मानव सेवा आश्रम वीरगंज शाखाको ८औँ वार्षिक उत्सव शुक्रबार वीरगंजमा सम्पन्न भएको छ। मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आश्रमले एक वर्षभित्रका गतिविधि तथा आय–व्यय विवरण सार्वजनिक गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पटेलले वीरगंजमा निर्माणाधीन मानव सेवा आश्रमको भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, “राज्यको प्रत्यक्ष सहयोग न्यून भए पनि समाजसेवी र दाताहरूको योगदानकै कारण मानव सेवा आश्रमहरू निरन्तर सञ्चालनमा छन्। म आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु।”

मानव सेवा आश्रममा कार्यरत स्वयंसेवकहरूको योगदानको प्रशंसा गर्दै मन्त्री पटेलले उनीहरूलाई “ईश्वररूपी” को संज्ञा दिएका छन्। “मानव सेवा आश्रममा खटिएका स्वयंसेवकहरू साँचिकै ईश्वररूपी हुन्। उनीहरूको इमानदारी, सेवा भावना र समर्पण प्रशंसनीय छ,” उनले भने।
समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, मानव सेवा आश्रम वीरगंज शाखाका संस्थापक संरक्षक तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारालगायतले मानव सेवा, सामाजिक उत्तरदायित्व र सहयोगको महत्वबारे धारणा राखेका छन्।
क्लासिक बैंक्वेटमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण मानव सेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ताले गरेका छन् भने स्वागत मन्तव्य समाजसेवी प्रकाश थारुले व्यक्त गरेका छन्। सो अवसरमा आश्रमलाई निरन्तर सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।



