वीरगंजमा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले धोती लगाएर नगर परिक्रमा गर्दै राष्ट्रिय पोसाक दिवस मनाएका छन्। ‘धोती–टोपी एक हौँ’ भन्ने सन्देशका साथ आयोजित कार्यक्रममा सहभागीहरूले सांस्कृतिक पहिचान, राष्ट्रिय एकता र आपसी सम्मानको सन्देश दिएका छन्।
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको कार्यक्रम पहाडी समुदायबाट मधेसी समुदायमाथि हुने दुर्व्यवहारको विरोधस्वरूप गरिएको जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए। उनका अनुसार मधेसी समुदायको पहिचानका रूपमा रहेको धोतीप्रति हुने विभेदको विरोध गर्नुका साथै राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको हो।

नगर परिक्रमाका क्रममा सहभागीहरूले धोती र टोपी दुवै नेपाली पहिचानका अभिन्न अङ्ग भएको उल्लेख गर्दै ‘तराई–पहाड एक हौँ’ भन्ने नारा लगाएका थिए।
आयोजकका अनुसार यस्ता कार्यक्रमले विविधतामा एकता कायम गर्न तथा सबै समुदायबीच आपसी सम्मान र सहिष्णुता प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।



