मधेश प्रदेश एक मात्र महानगर वीरगंज महानगरपालिकासंगै पर्सा , बारा , रौतहट , सर्लाही, सिरहा , सप्तरी , धनुषा , महोत्तरीमा बढ्दो अत्यधिक चिसोका कारण जनजीवन नराम्रोसंग प्रभावित भएको छ । लगातार दशौँ दिनको चिसोका कारण जनजीवन कष्टकर बनेको हो ।
एक हप्तादेखि मधेश घाम नलाग्दा अत्याधिक चिसो बढेको हो । चिसोका कारण सर्वसाधारणलाई घरबाहिर निस्कन कठिनाइ भएको छ भने विद्यालय जाने बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरू बढी प्रभावित भएका छन् ।

यसैबीच चिकित्सकहरूले चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । चिसो मौसममा रुघाखोकी, ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या तथा उच्च रक्तचापका बिरामीमा जटिलता बढ्न सक्ने जोखिम रहने उनीहरूको भनाइ छ । त्यसैले न्यानो कपडा लगाउने, अत्यधिक चिसोमा बाहिर ननिस्कने, तातो खानेकुरा सेवन गर्ने र बालबालिका तथा वृद्धवृद्धालाई विशेष ध्यान दिन सुझाव दिइएको छ ।
मौसम अझ केही दिन चिसो नै रहने अनुमान गरिएको छ । यसले मधेसका जिल्लामा जनजीवन थप प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकाय र स्थानीय तहले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ ।



