मधेस प्रदेशमा शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ र अन्य क्षेत्रका परियोजनाहरूमा भारत सरकारले अढाई अर्बभन्दा बढी रकमको अनुदान उपलब्ध गराएको छ। भारतीय महावाणिज्य दूतावास वीरगञ्जका तथ्यांकअनुसार हालसम्म जम्मा ८६ वटा परियोजना स्वीकृत गरिएको छ। प्रत्येक योजनाको लागत ३ करोडदेखि ३ करोड ५० लाख रुपैयाँको रहेको छ ।
स्वीकृत योजनाहरू मध्ये ६१ वटा कार्य सम्पन्न भइसकेका छन् भने २५ वटा योजनामा काम जारी रहेको जनाइएको छ। यी योजनामा शिक्षा क्षेत्रका ५२, स्वास्थ्य ६, सडक र पुल ८, नदी बाँध १, सिँचाइ २, संस्कृति ३, विद्युत्तीकरण ५ र ९ वटा मिश्रित परियोजना रहेका छन् ।

प्रदेशभरी सबैभन्दा बढी २१ वटा भारतीय स्वीकृत योजना धनुषा जिल्लामा सञ्चालनमा छन्, जसमा १३ वटा कार्य सम्पन्न भइसकेका छन् भने ८ वटा काममा जारी रहेको छ ।
शुक्रबार धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित तुल्सीयाहीमा ३ करोड ७० लाख रुपैयाँ लागतमा निर्मित बैधनाथ देव नारायण सामुदायिक विद्यालयको भवन उद्घाटन गरिएको छ। नव निर्मित भवनमा ३७ कक्षाकोठा, पुस्तकालय, स्टाफ रुम, शौचालय, कार्यालय र केमेस्ट्री, फिजिक्स तथा कम्प्युटर लैबको व्यवस्था गरिएको छ ।
हालसम्म भारत सरकारले नेपाललाई १०४९ वटा एम्बुलेन्स र ३८१ वटा स्कूल बस उपलब्ध गराएको छ। मधेस प्रदेशमा २३२ एम्बुलेन्स र ४० स्कूल बस प्रदान गरिएका छन् ।



