चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ। पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाका केही गाई फार्ममा रोगको लक्षण देखिएको पशु सेवा कार्यालयले जनाएको छ।
पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिका–२७ स्थित एक गाई फार्ममा खोरेत रोग पुष्टि भइसकेको छ। रत्ननगरका फार्ममा पनि लक्षण देखिए पनि प्रयोगशालाको नतिजा आउन बाँकी छ। प्रभावित क्षेत्रमा खोरेतविरुद्धको खोप अभियान सुरु गरिएको र आवश्यक परे जिल्लाभरि विस्तार गरिने उनले बताए।

भाइरसका कारण सर्ने खोरेत रोग लागेपछि गाईभैँसीमा उच्च ज्वरो, जिब्रोको छाला जाने, गर्भ तुहिने, दूध उत्पादन घट्ने र खुट्टामा घाउ हुनेजस्ता लक्षण देखिने गर्छ । कार्यालयले बाहिरबाट ल्याइएका पशुलाई २१ दिन क्वारेन्टाइनमा राख्न, सङ्क्रमित पशुलाई छुट्टै राखेर उपचार गर्न तथा हरेक फार्ममा जैविक सुरक्षा अपनाउन आग्रह गरेको छ। साथै वर्षमा दुईपटक खोरेतविरुद्ध खोप लगाउन पनि पशुपालकलाई अनुरोध गरिएको छ।



