बर्दिबासबाट ब्राउन सुगर ओसारपसार गरेको आरोपमा जलेश्वर–६ का २६ वर्षीय मोटरसाइकल चालक बिक्कीकुमार मिश्र र १६ वर्षीया नेहा परियार पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा बर्दिबास र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले दुवैलाई नियन्त्रणमा लिएको हो।
बर्दिबास–१, राष्ट्रिय बाणिज्य बैंकअगाडिको भित्री सडक खण्डमा गौरीडाँडातर्फ जाँदै गरेको प्रदेश २–०२–००५ प ३१५९ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा नेहाले हातमा बोकेको सेतो प्लास्टिक झोलाभित्र चकलेटको बट्टामा लुकाइ राखिएको दुई प्याकेटमा ब्राउन सुगर फेला परेको थियो। बरामद गरिएको ब्राउन सुगरको कुल तौल प्लास्टिकसहित ५२.८५० ग्राम र शुद्ध तौल ४७.६२० ग्राम रहेको छ ।

बरामद पदार्थ र मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि बर्दिबासस्थित इलाका प्रहरी कार्यालयमा बुझाइएको छ ।
तपाईको प्रतिक्रिया



