अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता (Birthright Citizenship) अन्त्य गर्ने उद्देश्यले ल्याएको कार्यकारी आदेशसँग सम्बन्धित विवाद अब सर्वोच्च अदालतमा पुगेको छ। संवैधानिक रूपमा अत्यन्त संवेदनशील मानिने यस मुद्दामाथि अदालतले सुनुवाइ गर्न सहमति जनाइ सकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ।
सर्वोच्च अदालतले सुनुवाइको मिति तोकेको छैन, तर आगामी वर्षको सुरूमा बहस सुरु भई जूनसम्म फैसला आउने अनुमान गरिएको छ।

ट्रम्पले कार्यकालको पहिलो दिन, जनवरी २०, एक कार्यकारी आदेश जारी गर्दै अवैधानिक रूपमा अमेरिकामा आएका वा अस्थायी भिसामा रहेका अभिभावकका सन्तानलाई स्वतः नागरिकता नदिइने प्रावधान लागू गर्ने घोषणा गरेका थिए।
तर संघीय अदालतहरूले यो आदेशलाई असंवैधानिक ठहर गर्दै रोक्दै आएका छन्। अमेरिकी संविधानको १४औँ संशोधनले “अमेरिकी भूमिमा जन्मिएका सबै व्यक्ति नागरिक हुन्” भन्ने स्पष्ट व्यवस्था गरेको छ।
ट्रम्प प्रशासन भने अवैधानिक रूपमा आएका वा अस्थायी भिसामा रहने अभिभावकका सन्तान देशको अधिकार क्षेत्रभित्र नपर्ने तर्क गर्दै आएको छ।
यसअघि पनि अदालतले ट्रम्पका केही कडा आप्रवासन नीतिलाई लागू गर्न अनुमति दिएको थियो।
यो मुद्दाले अमेरिकामा नागरिकता अधिकार, आप्रवासन नीति र संवैधानिक व्याख्या सम्बन्धी बहस पुनः तीव्र बनाएको अन्तर्राष्ट्रिय समाचारहरूमा उल्लेख छ।



