जनकपुरधाममा आज ‘फूलवारी लीला’, राम–सीताको पहिलो भेट नाट्यमय रूपमा पुनर्स्मरण

विवाह पञ्चमी महोत्सवको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज जनकपुरधाममा ‘फूलवारी लीला’ आयोजना हुँदै छ। राम–सीताको बाल्यकालीन पहिलो साक्षात्कारलाई केन्द्रमा राखिएको यो लिला जनकपुरको प्रमुख आकर्षणमध्ये एक मानिन्छ।

कथाअनुसार, बालिका सीता आमा साथीसँग फूल टिप्न फूलबारी पुगेको बेला रामसँग प्रथम भेट हुन्छ। यही कथानकलाई स्थानीय कलाकार, भजन–कीर्तन समूह र सांस्कृतिक झाँकीहरूले रंगमञ्चीय रूपान्तरण गर्दैछन्। प्रस्तुतिमा नाटक, गीत, भजन र सजिएका झाँकीमार्फत दुवै पात्रबीचको प्रारम्भिक आकर्षणका क्षणलाई जीवन्त बनाइन्छ।

विवाह पञ्चमी नजिकिँदै जाँदा जनकपुरधाम पूरै धार्मिक र सांस्कृतिक रौनकले सजिएको छ। जानकी मन्दिर परिसरमा सरसफाइदेखि पण्डाल निर्माण, झिलिमिली बत्ती, मञ्च तयारी र अन्य सांस्कृतिक संरचनाले मन्दिर क्षेत्रको सौन्दर्य झनै बढाएको छ।

जानकी मन्दिरले सार्वजनिक गरेको कार्यक्रम अनुसार भोलि ‘धनुषा यज्ञ’, पर्सि ‘तिलकोत्सव’, त्यसपछि ‘मटकोर’, ‘स्वयंवर’, ‘शुभ विवाह’ तथा अन्तिम दिन ‘रामकलेवा’का कार्यक्रमहरू क्रमिक रूपमा सञ्चालन हुनेछन्।

यो महोत्सव अवलोकन गर्न भारतका बिहार, उत्तरप्रदेश, राजस्थानदेखि नेपालका सातै प्रदेशबाट भक्तजन जनकपुरधाम आएका छन्। धार्मिक आस्था, सांस्कृतिक आकर्षण र ऐतिहासिक महत्वले यो पर्व वर्षेनि भव्य रूपमा मनाइँदै आएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार