वीरगञ्ज २१ कार्तिक । औषधी व्यवस्था कार्यालय वीरगञ्जले ६ वटा औषधी पसलमा सिल गरेको छ । महोत्तरी र धनुषाका विभिन्न औषधी पसलमा गरिएको अनुगमनका क्रममा ६ वटा पसल सिल गरिएको औषधी व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख शम्भु साहले जानकारी दिनुभयो ।
उहाँकाअनुसार महोत्तरीका १२ वटा पसलमा अनुगमन गर्दा ११ वटामा सामान्य कैफियत भेटिएको छ भने १ वटा पसल बन्द गराइएको छ । यस्तै धनुषाका ३७ वटा पसलमा अनुगमन गरिएको कार्यालयका सूचना अधिकारी ओम जैयसवालले जानकारी दिनुभयो । सो क्रममा ३१ वटामा सामान्य कैफियत पाइएको छ । ५ वटा पसल भने बन्द गराइएको उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा न्यु ओम आयुर्वेद फर्मा बर्दिबास, माँ दुर्गा सर्जिकल धनुषा, माँ जानकी पोलिक्लिनिक प्रा.लि. धनुषा, आनन्द सर्जिकल धनुषा, आश्विन मेडिकल जनकपुर र नानदिन्दो हेल्थ केयर प्रा.ली ढल्केबरलाई बन्द गराइएको हो । बुधवार र बिहीबार महोत्तरी र धनुषाका ४९ वटा औषधी पसलमा अनुगमन गरिएको हो । सामान्य कैफियत भेटिएका पसललाई पहिलो पटक सचेत गराइएको सूचना अधिकारी जयसवालले बताउनुभयो ।



