वीरगञ्ज भन्सार कार्यालयबाट आएको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विद्युतीय सवारीसाधनको आयात ह्वातै बढेको छ। गत आवको सोही अवधिमा ९७ वटा विद्युतीय जीप, कार र भ्यान मात्रै आयात भए पनि चालु आवको तीन महिनामा उल्लेखनीय रूपमा आयात बढेर राजस्व सङ्कलनमा पनि वृद्धि भएको छ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सुर प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार, गत आवको तीन महिनामा ९७ वटा विद्युतीय सवारीसाधन आयातबाट ९ करोड ११ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने चालु आवको तीन महिनामा ४५ करोड ७२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।

विद्युतीय मोटरसाइकलको आयातमा पनि वृद्धि देखिएको छ। चालु आवको तीन महिनामा २८ करोड ७९ लाख मूल्य पर्ने २,१९४ वटा विद्युतीय मोटरसाइकल आयात भएको छ। यसअघि, गत आवको सोही अवधिमा २१ करोड १७ लाख मूल्य पर्ने १,४८१ विद्युतीय मोटरसाइकल आयात भएको थियो।
विशेषज्ञहरूका अनुसार, सर्वसाधारणबीच विद्युतीय सवारीप्रतिको आकर्षण बढ्नु र चीनको सीमा नाकाबाट आउने सडकको अवस्था दयनीय हुनु यस आयात वृद्धिका प्रमुख कारण रहेका छन्।



