रौतहटको चन्द्रपुरमा म्याद गुज्रिएको भ्याक्सिन बालबालिकालाई वितरण, खोप अभियान स्थगित

रौतहटको चन्द्रपुर नगरपालिकामा बालबालिकाको स्वास्थ्यसँग खेलबाड भएको छ। नियमित खोप कार्यक्रमअन्तर्गत लगाइने जापानी इन्सेफ्लाइटिस (JE) भ्याक्सिन म्याद गुज्रिएको अवस्थामा वितरण गरिएको पाइएको हो।

मंगलबार चन्द्रपुर–९ मा खोप वितरणका क्रममा म्याद गुज्रिएको भ्याक्सिन फेला परेपछि अभियान तुरुन्तै रोकिएको वडाध्यक्ष नवराज देवकोटाले जानकारी दिएका छन्। उनका अनुसार खोप लगाउने तयारीकै बेला भ्याक्सिनको म्याद सकिएको भेटिएपछि कार्यक्रम स्थगित गरिएको हो।

देवकोटाले भने, “यो अत्यन्त संवेदनशील विषय हो। बालबालिकाको स्वास्थ्यमा लापरबाही सह्य हुँदैन, त्यसैले तुरुन्तै सम्बन्धित निकायलाई जानकारी गराइएको छ।”

प्रत्येक महिनाको १८ देखि २२ गतेसम्म सञ्चालन हुने नियमित खोप कार्यक्रम यसपटक स्थगित गरिएको छ। नगरप्रमुख सञ्जयकुमार काफ्लेले अन्य वडामा पनि म्याद गुज्रिएको भ्याक्सिन पुगेको हुनसक्ने भन्दै सम्पूर्ण अभियान रोक्ने निर्देशन दिएका छन्।

उनले घटनामा संलग्न कर्मचारीमाथि कडा विभागीय कारबाही हुने चेतावनी दिँदै भने, “बालबालिकाको स्वास्थ्यसँग जोडिएको यस्तो मामिलामा लापरबाही अस्वीकार्य छ।”

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राजेशकुमार ठाकुरले आफ्नै कमजोरीका कारण म्याद गुज्रिएको भ्याक्सिन वितरणमा परेको स्वीकार गर्दै गल्ती स्विकारेका छन्। नगर कार्यपालिकाले ठाकुरमाथि अनुसन्धानात्मक कारबाहीको तयारी गरेको जनाएको छ।

त्यस्तै, चन्द्रनिगाहपुर सरकारी अस्पतालका प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तवले स्वास्थ्यकर्मीहरूको असावधानीका कारण यस्तो समस्या आएको बताउँदै अन्य वडाहरूमा वितरण भइसकेका भ्याक्सिनसमेत पुनः जाँच सुरु गरिएको जानकारी दिएका छन्।

घटना सार्वजनिक भएपछि अभिभावक र स्थानीयवासी आक्रोशित बनेका छन्। मंगलबार डुमरिया लगायतका खोप केन्द्रहरूमा खोप अभियान रोकिएको छ।

यस घटनापछि नगरपालिकाले सबै खोप केन्द्रमा रहेका भ्याक्सिनको म्याद पुनः परीक्षण गर्ने र निगरानी समिति गठन गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार