पंचगावाँ । पर्सा जिल्लाको ग्रामीण क्षेत्रहरू शुक्रबार रातिदेखि लगातार परिरहेको अबिरल वर्षाको कारण धेरै स्थानमा बाढी, डुबान र विद्युत अवरुद्धजस्ता समस्या देखिएका छन् । तीन दिनदेखि निरन्तर वर्षा जारी रहेकाले स्थानीय बासिन्दाहरू कठिन परिस्थितिमा बाँचिरहेका बेला आइतबार बिहान मौसम केही खुलेपछि सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रत्यासी तथा युवा नेता शिवकुमार साह जनताको समस्या बुझ्न गाउँ–गाउँ पुगेका छन् ।
जनसेवामा निरन्तर सक्रिय युवा नेता साहले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत गाउँपालिकाभरका स्थानीय बासिन्दालाई सावधानी अपनाउन, सम्भावित जोखिममा सतर्क रहन र कुनै पनि प्रकारको समस्या परे तुरुन्तै जानकारी गराउन आग्रह गरेका थिए । उनका अनुसार, बिपद् र आपतको बेला सूचनाको प्रवाह र प्रत्यक्ष सम्पर्क अत्यावश्यक हुन्छ, त्यसैले स्थानीय बासिन्दाले ढिलाइ नगरी खबर गर्नु जरुरी छ ।

मौसम केही खुलेसँगै आइतबार बिहानैदेखि मोटरसाइकलमा निस्केका साहले पालिकाका विभिन्न वडा, गाउँ र टोलहरूमा पुगेर प्रत्यक्ष रूपमा स्थानीय नागरिकसँग भेटघाट गरेका छन् । वृद्ध, असहाय, महिला र युवासँग छलफल गर्दै उनले वर्षाका कारण उत्पन्न भएका समस्या सुनेका छन् । स्थानीय बासिन्दाहरूले साहलाई विद्युत सेवा अवरुद्ध भएको र लामो समयदेखि लाइन नआएपछि मोबाइल चार्ज गर्न समेत मुस्किल परेको गुनासो गरेका थिए । कतिपय गाउँमा मानिसहरू चौकमा राखिएको जेनेरेटर प्रयोग गरेर पालो–पालो मोबाइल चार्ज गरिरहेका थिए ।
जनताको यो गुनासो सुनेपछि साहले तुरुन्तै नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रका सम्बन्धित अधिकारी र कर्मचारीहरूसँग सम्पर्क गरी मर्मत कार्य तीव्र पार्न आग्रह गरेका थिए । अविरल वर्षाको बीचमा पनि कर्मचारीहरूले जोखिम मोलेर निरन्तर मर्मत कार्य सञ्चालन गरेपछि आइतबार साँझसम्म गाउँका अधिकांश क्षेत्रमा विद्युत सेवा पुनः सुचारु भएको साहले जानकारी दिएका छन् । उनले भने, “जनताको समस्या समाधान गर्नु मेरो पहिलो दायित्व हो । बिजुली नहुँदा सूचना प्रवाह र सम्पर्क नै अवरुद्ध हुन्छ, त्यसैले मर्मत कार्य तत्काल गर्न समन्वय गरिएको हो ।”
साहले स्थलगत निरीक्षणका क्रममा वडा नं. ४ लगायतका केही बस्तीहरूमा पनि अवलोकन गरेका छन्, जहाँ पानीको सतह बढ्दै जाँदा केही घरहरूमा डुबानको जोखिम देखिएको थियो । उनले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गर्दै राहत र उद्धारका लागि गाउँपालिका कार्यालय, विपद् व्यवस्थापन समिति तथा स्थानीय प्रशासनसँग निरन्तर समन्वय भइरहेको जानकारी दिएका छन् ।
स्थानिय बासिन्दाहरूले साहको पहलप्रति खुसी व्यक्त गर्दै उनलाई असल र निडर युवा नेताको रूपमा वर्णन गरेका छन् । एक वृद्ध नागरिकले भने, “दुःख–सुखमा जनतालाई छेउमा राख्ने नेता हो साह । समस्या भयो भने तुरुन्तै खबर गर्न सकिन्छ, उहाँ तुरुन्तै आइपुग्नुहुन्छ ।” त्यस्तै अर्का युवाले भने, “साह जस्तो सक्रिय र जनमुखी नेता हाम्रो गाउँको आवश्यकता हो । उहाँले केवल वाचा गर्नुहुन्न, काम गरेर देखाउनुहुन्छ ।”
साहले आइतबार दिनभर पालिकाका सबै वडामा पुगेर वर्षाका कारण उत्पन्न समस्या, डुबानको जोखिम र जनताको आवश्यकता प्रत्यक्ष रूपमा बुझेका छन् । उनले सम्बन्धित निकायलाई तत्काल आवश्यक सहयोगका लागि आग्रह गर्दै भनेका छन्, “जनताको समस्या बुझ्ने र समाधान गर्न तत्पर रहनु नै हाम्रो साझा जिम्मेवारी हो । म सधैं जनताको साथमा छु, कुनै पनि कठिन परिस्थितिमा म जनताको घर–घरमा पुग्नेछु ।”
उनले आगामी दिनहरूमा पनि गाउँपालिकाभरका सबै वडामा स्थलगत अवलोकन, बाढी तथा डुबान जोखिम मूल्याङ्कन र राहत वितरणको काम निरन्तर गर्ने योजना रहेको बताएका छन् । साथै, उनले स्थायी समाधानका लागि उचित पूर्वाधार निर्माण, नाली र ढल व्यवस्थापन सुधार तथा विद्युत आपूर्तिको स्थायी योजना बनाउन पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।
स्थानीय बासिन्दाको विश्वास जित्दै आएका साहको जनसेवाप्रतिको प्रतिबद्धता दिनानुदिन देखापरिरहेको छ । हिजोआज गाउँका बासिन्दाले उनलाई एक जिम्मेवार, संवेदनशील र कर्मशील युवा नेता भनेर सम्बोधन गर्न थालेका छन् । जनताको सुख–दुःखमा सधैं साथ दिँदै आएका साह अब सखुवा प्रसौनी गाउँपालिकामा एक उदाहरणीय नेतृत्वका रूपमा स्थापित हुँदै गएका छन् ।



