सखुवा प्रसौनी, पर्सा — सखुवा प्रसौनी गाउँपालिकामा रासायनिक मल वितरणको विषयलाई लिएर विवाद चुलिएको छ। कोडेक कृषि सहकारी संस्था लिमिटेड र गाउँपालिकाबीचको असमझदारीले विवादले चर्को रूप लिँदै गएको हो।
बुधबार पत्रकार सम्मेलन गर्दै कोडेक सहकारीका अध्यक्ष सत्यजीत चौधरी थारुले गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट महतोमाथि आफ्नाे सहकारीलाई बाइपास गर्दै अर्को सहकारीलाई मल वितरणको जिम्मेवारी दिन खोजेको आरोप लगाए। उनका अनुसार, कोडेकले विगत लामो समयदेखि पारदर्शी ढंगले किसानलाई मल वितरण गर्दै आएको थियो।

अध्यक्ष चौधरीले उपाध्यक्ष बिष्टका श्रीमान गौरीशंकर महतोले व्यक्तिगत रूपमा ४० बोरा मल माग्दा आफूहरूले नदिएपछि सहकारीमाथि पूर्वाग्रहपूर्ण निर्णय गरिएको दाबी समेत गरे। उनले गाउँपालिका नेतृत्वलाई निष्पक्ष रहन आग्रह गरे।
यस आरोपप्रति प्रतिक्रिया दिँदै उपाध्यक्ष शर्मिला बिष्ट महतोले मल वितरण प्रक्रियामा अनियमितताको गुनासो आएपछि अस्थायी रूपमा वितरण रोकिएको स्पष्ट पारिन्। उनले कसैप्रति व्यक्तिगत पूर्वाग्रह नरहेको भन्दै आरोपहरू असत्य र निराधार भएको बताइन्।
स्थानीय किसानहरू भने मल अभावका कारण धानबालीमा मल हाल्न समस्या परेको बताउँदै तत्काल समाधानको माग गरिरहेका छन्। स्थानीय शम्भु यादवले “राजनीतिक झमेलामा किसान मर्कामा परेका छन्,” भन्दै आक्रोश व्यक्त गरे।
गाउँपालिका अध्यक्ष जसवन्त यादवले भने विवाद समाधानका लागि सर्वदलीय छलफल भइरहेको जानकारी दिएका छन्। उनका अनुसार, कुनै पनि सहकारी वा किसानप्रति विभेद नगरी निष्पक्ष तरिकाले मल वितरण सुनिश्चित गरिनेछ।
हाल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, कृषि शाखा, किसान प्रतिनिधि लगायत सरोकारवाला निकायबीच छलफल जारी छ। किसानले चाँडो निर्णय भई मल सहज रूपमा पाउने अपेक्षा गरेका छन्।



