राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो।
बोर्डका अनुसार नियमिततर्फ परीक्षा दिएका ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जना अर्थात् ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थीमध्ये ३६ हजार ४२० जना उत्तीर्ण भएका छन्।

नियमित र आंशिकतर्फ गरी कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएकोमा २ लाख ६८ हजार १९० जना उत्तीर्ण भएका छन्। ४० जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।
विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड तथा नेपाल टेलिकमको वेबसाइटमार्फत नतिजा हेर्न सक्नेछन्। साथै, मोबाइलबाट NEB टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर लेखी १६०० मा एसएमएस पठाएर, १६०१ नम्बरमा फोन गरेर वा *१६०१# डायल गरी पनि नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ।



