वीरगंज, असार १ –
बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ भगिरथ लाइनस्थित वीरगंज–पथलैया सडकखण्डमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएकी एक किशोरीको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१७ रामनगर निवासी बासुदेव मोक्तानकी १६ वर्षीया छोरी सुप्रिया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार दिउँसो जितपुरबाट सिमरातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०३९ प २६८६ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा सुप्रिया मोक्तान गम्भीर घाइते भएकी थिइन् । उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
घाइते मोक्तानको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।
दुर्घटनामा स्कुटरको पछाडि सवार जितपुरसिमरा–१७ कै तिलकबहादुर रुम्बाकी १६ वर्षीया छोरी सुप्रिया रुम्बा पनि घाइते भएकी छन् । उनको अनुहार, बायाँ हात तथा दुवै खुट्टामा चोट लागेको छ । प्रहरीका अनुसार उनको अवस्था मध्यम रहेको छ र सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाग्रस्त स्कुटरलाई इलाका प्रहरी कार्यालय जितपुरले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



