वीरगञ्ज, असोज १३ ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेशले सञ्चारमाध्यमका लागि प्रदेश सरकारले छुट्याएको बजेट कटौती नगर्न माग गरेको छ।
महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराको नेतृत्वमा गएको टोलीले अर्थमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै चालु आर्थिक वर्षमा आमसञ्चार प्राधिकरणमार्फत लोक कल्याणकारी विज्ञापनका लागि छुट्याइएको बजेट पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो।

चालु आर्थिक वर्षको बजेटमा शीर्षक नम्बर २२३२३ अन्तर्गत लोक कल्याणकारी विज्ञापनका लागि ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो। तर वित्तीय समायोजनका नाममा उक्त रकमको ५० प्रतिशत रोकिएपछि सञ्चारमाध्यमले ३५ लाख रुपैयाँ मात्र पाउने अवस्था बनेको महासंघले जनाएको छ।
महासंघले विज्ञापन बजारमा आएको गिरावटका कारण सञ्चारमाध्यमहरू पछिल्लो समय गम्भीर आर्थिक दबाबमा परेको जनाएको छ। आर्थिक संकटकै कारण केही पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यम बन्द भइसकेको तथा कतिपय बन्द हुने अवस्थामा पुगेको उसको भनाइ छ।
लोकतन्त्र, गणतन्त्र र संघीयता स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै महासंघले संकटमा परेको सञ्चार क्षेत्रलाई थप कमजोर बनाउने गरी बजेट कटौती नगर्न प्रदेश सरकारसँग आग्रह गरेको छ।
त्यसैगरी पत्रकारिता क्षेत्रको विकास र संस्थागत सुदृढीकरणका लागि स्थापना गरिएका मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणलाई प्रभावकारी बनाउन विनियोजित बजेट यथावत् राख्न तथा आवश्यकताअनुसार थप बजेट व्यवस्था गर्नसमेत महासंघले माग गरेको छ।
अध्यक्ष बञ्जाराले सञ्चारमाध्यमको निरन्तरता र सञ्चार क्षेत्रको संस्थागत विकासका लागि प्रदेश सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताए। सोही मागसहित अर्थमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाइएको हो।
ज्ञापनपत्र बुझाउने क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, मधेस प्रदेशका सचिव शैलेन्द्र क्रान्तिलगायत पदाधिकारीहरूको सहभागिता थियो।



