पर्सा, भदौ २८ ।
सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा अवैध कारोबार नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त रूपमा सीमाक्षेत्रमा गस्ती तथा सुरक्षा अन्तरक्रिया गरेका छन्।

आइतबार इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक भानुभक्त अर्यालको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी तथा एसएसबीका प्रहरी निरीक्षकसहितको टोलीले सीमावर्ती क्षेत्रमा संयुक्त गस्ती गरेको हो।
गस्तीका क्रममा अवैध सामानको तस्करी, लागुऔषध ओसारपसार, मानव बेचबिखन, नक्कली नोटको कारोबार, चोरी तथा डकैतीजस्ता सीमा अपराध नियन्त्रणका विषयमा सुरक्षा अधिकारीबीच छलफल भएको थियो। साथै, सीमाक्षेत्रमा हुने शंकास्पद गतिविधि, आवतजावत तथा अवैध ओसारपसारमाथि निगरानी थप कडा बनाउने विषयमा समेत अन्तरक्रिया गरिएको जनाइएको छ।
प्रहरी निरीक्षक अर्यालले सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्दै अपराध नियन्त्रण र नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर निगरानी प्रणालीलाई थप प्रभावकारी बनाइने बताए। उनले सीमा अपराध नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा निकायबीच नियमित सूचना आदानप्रदान, समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए।
संयुक्त गस्तीका क्रममा सीमाक्षेत्रमा देखिएका सुरक्षा चुनौती पहिचान गर्दै आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे समेत छलफल गरिएको सुरक्षा निकायले जनाएको छ। सुरक्षा अधिकारीहरूले सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रणका लागि संयुक्त प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।



