प्रसौनी गाउँपालिका वडा नं. १ स्थित मुख्य बजार क्षेत्रमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक तथा विधिवत पूजा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। मिति २०८३ साल भदौ १० गते आयोजित उक्त विशेष पूजा अनुष्ठानमा मुख्य कर्ताको रूपमा श्री विनोद प्रसाद जैसवाल बस्नुभएको थियो।
स्थानीय पूर्वाधार विकास तथा समुदायको सुविधालाई ध्यानमा राखी निर्माण गरिएको यस सुविधासम्पन्न बहुउद्देश्यीय भवन कुल ३ करोड ४३ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो। बजार क्षेत्रमा निर्माण भएको यस भवनले आगामी दिनमा गाउँपालिकाका विभिन्न सामाजिक, सांस्कृतिक, सार्वजनिक तथा प्रशासनिक गतिविधिहरू सञ्चालन गर्न महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास लिइएको छ।

वैदिक मन्त्रोच्चारणका साथ विधिपूर्वक पूजा सम्पन्न भएपछि उपस्थित सहभागीहरूलाई प्रसाद वितरण गरिएको थियो। पूजा कार्यक्रमका मुख्य कर्ता जैसवालले गाउँपालिकाको विकास र स्थानीय समुदायको साझा हितका लागि यस्तो आधुनिक पूर्वाधार तयार हुनु गौरवको विषय भएको उल्लेख गर्नुभयो।
यसअघि व्यवस्थित भवन तथा हलको अभावका कारण ठूला सार्वजनिक भेला, तालिम, गोष्ठी तथा सामाजिक उत्सवहरू आयोजना गर्न स्थानीयले भोग्दै आएको समस्यालाई यस भवनले समाधान गर्ने अपेक्षा गरिएको छ। बजारको केन्द्रमा अवस्थित यो संरचना स्थानीय स्तरमा नागरिकहरूलाई सामूहिक कार्य तथा सेवा प्रवाहमा सहजता ल्याउने एक महत्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भएको छ।



