पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–३, सखुवा प्रसौनीमा दिनदहाडै काठ ओसारपसार भइरहेको आरोपपछि वन तथा प्रहरी प्रशासनको कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठेको छ। स्थानीयका अनुसार बिहानै मुसहरपट्टीको बाटो हुँदै अहिरपट्टीस्थित सुदामा स–मिलतर्फ दुई जना व्यक्तिले काठ लिएर प्रवेश गरेका थिए। काठ ओसारपसार भइरहेको देखेपछि स्थानीयले घटनाबारे ग्रामीण टीभीका सञ्चारकर्मीलाई जानकारी गराएका थिए।
स्थानीयबाट सूचना पाएपछि ग्रामीण टीभीका सञ्चारकर्मीले तत्काल सब–डिभिजन वन कार्यालय रंगपुर टाडीँ र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, पर्सालाई जानकारी गराएका थिए। त्यसपछि वन कार्यालयको टोली घटनास्थलमा पुगे पनि खोजतलासका क्रममा काठ बरामद गर्न सकेन। वन कार्यालयका अनुसार मिल सञ्चालकले एक व्यक्तिले काठ लिएर आएको र पछि उक्त काठ फिर्ता पठाइएको जानकारी दिएका थिए।

यता, घटनाबारे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक सुमन्न्त अधिकारीलाई समेत जानकारी गराइएको थियो। जानकारी पाएपछि प्रहरीतर्फबाट दुई जना प्रहरी र एक जना सादा पोशाकका प्रहरी परिचालन गरिएको बताइएको छ। तर प्रहरी टोली परिचालन हुँदासमेत घटनामा प्रयोग भएको भनिएको काठ बरामद हुन नसक्नुले प्रहरीको निगरानी र कार्यक्षमतामाथि प्रश्न खडा भएको छ।
सबैभन्दा गम्भीर प्रश्न भनेको ग्रामीण टीभीका सञ्चारकर्मीले घटनाबारे तत्काल प्रहरी र वन कार्यालयलाई जानकारी गराउँदा समेत काठ नियन्त्रणमा लिन प्रहरी किन सफल भएन ? भन्ने हो। घटनास्थलमा काठ ओसारपसार भएको सूचना पाएपछि प्रहरीसँग तत्काल खोजी, निगरानी तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जिम्मेवारी भए पनि परिणाम भने काठ बरामद नहुनुमा सीमित देखिएको स्थानीयको गुनासो छ।
स्थानीयले दिनदहाडै काठ ओसारपसार भइरहेको आरोप लाग्नु र सूचना पाएपछि सुरक्षा निकाय घटनास्थलमा पुग्दा पनि काठ फेला नपर्नुले घटनालाई थप शंकास्पद बनाएको बताएका छन्। उनीहरूले प्रहरी प्रशासनले केवल टोली परिचालन गरेको देखाउनेभन्दा पनि काठ कहाँबाट आयो, कसले ल्यायो, कहाँ लगियो र किन बरामद हुन सकेन भन्ने विषयमा गम्भीर अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।
स्थानीयस्तरमा सुरक्षा निकायसँग मिलेमतोको आशंका समेत व्यक्त हुन थालेको छ। यद्यपि, प्रहरी वा सुरक्षाकर्मीको मिलेमतो भएको आरोपको स्वतन्त्र पुष्टि भने भइसकेको छैन। तर घटनामा प्रहरीलाई समयमै जानकारी गराइएको र प्रहरी टोलीसमेत परिचालन भएको अवस्थामा पनि काठ बरामद हुन नसक्नुले प्रहरी तथा डिभिजन वन कार्यलयको भूमिकामाथि स्वाभाविक रूपमा प्रश्न उठेको छ।



