वीरगन्ज,०२ भदौ ।
वीरगन्ज उद्योग वाणिज्य संघले वीरगन्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विकास अधिकारी र सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) उत्तर वाइवालाई ‘बेस्ट इन्ट्रिग्रिटी अवार्ड २०८३’बाट सम्मान गरेको छ।

स्वर्गीय सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कारबाट अधिकारी र वाइवालाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको हो।
मंगलबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट र वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले दुवै प्रहरी अधिकारीलाई अवार्ड प्रदान गरे।
अवार्ड प्रदान गर्दै संघका अध्यक्ष गौतमले स्वर्गीय थपलियाले सुरक्षा क्षेत्रमा पुर्याएको योगदान र राष्ट्र सेवाप्रतिको समर्पणलाई स्मरण गर्दै पुरस्कारलाई निरन्तरता दिइएको बताए। उनले निजी क्षेत्र र सुरक्षा निकायबीच सहकार्य, समन्वय र आपसी विश्वास अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टले सीमा सुरक्षाका साथै विपद् व्यवस्थापन, उद्धार तथा नागरिक सुरक्षामा सशस्त्र प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको बताए। सुरक्षा निकाय र निजी क्षेत्रबीचको सहकार्यले मुलुकको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुर्याउने उनको भनाइ थियो।
स्वर्गीय सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्सामा कार्यरत रहेकै अवस्थामा २०८० भदौ २ गते निधन भएको थियो। उनको स्मृतिमा स्थापना गरिएको ‘बेस्ट इन्ट्रिग्रिटी अवार्ड’मार्फत इमानदारी, कर्तव्यनिष्ठा र व्यावसायिक योगदानलाई सम्मान गरिँदै आएको छ।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री, वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव शिवजीप्रसाद साह, सहसचिव नरेश टिवडेवाल, प्रमुख प्रशासकीय अधिकृत मनोज उपाध्याय तथा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका उपाध्यक्ष सञ्जय अग्रवाललगायतको सहभागिता थियो।



