वीरगंज , पुष – ५
बंगलादेशको मैमनसिंह जिल्लाको भालुका क्षेत्रमा धार्मिक अपमानको आरोप लगाउँदै भीडले एक युवकको निर्मम हत्या गरेको छ। घटना बिहीबार राति भालुकाको दुबालिया पाडा क्षेत्रमा भएको हो।
भालुका प्रहरी स्टेशनका ड्युटी अफिसर रिपन मियाका अनुसार दीपु चन्द्र दास नामका युवकलाई उत्तेजित भीडले नियन्त्रणमा लिएर सामूहिक कुटपिट गरी हत्या गरेको हो। हत्या गरेपछि पनि भीड नरोकी दीपुको शव रुखमा बाँधेर आगो लगाइएको प्रहरीले जनाएको छ। दीपु स्थानीय कपडा कारखानामा काम गर्दै आएका थिए।

बीबीसीसँग कुरा गर्दै मियाले बिहीबार राति करिब ९ बजे घटनास्थलमा भीड अत्यन्त आक्रोशित रहेको र घटनास्थलमै युवकको ज्यान गएको बताए।
घटनाप्रति बंगलादेश सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले कडा निन्दा गरेका छन्। उनले नयाँ बंगलादेशमा यस्ता बर्बर हिंसाको कुनै स्थान नरहेको भन्दै दोषीहरूलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।
पूर्वप्रधानमन्त्री शेख हसिनाको पतनपछि बंगलादेशमा अल्पसंख्यक समुदायमाथि लक्षित आक्रमण बढ्दै गएको आरोप लाग्दै आएको छ। यस्तै अवस्थामा शेख हसिनाविरुद्धको आन्दोलनका अगुवा युवा नेता शरीफ उस्मान हादीको मृत्युपछि देशका विभिन्न स्थानमा हिंसात्मक प्रदर्शनसमेत चर्किएको छ।
हादीमाथि ढाकामा गोली प्रहार भएपछि उपचारका लागि सिंगापुर लगिएको थियो, जहाँ बुधबार उपचारकै क्रममा उनको मृत्यु भएको हो।



