नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।
जनकपुरका अनिल शाह र माज सदाकतले अर्धशतकीय पारी खेले, सदाकतले ६३ र शाहले ६१ रन जोडेर टिमको जीत सुनिश्चित गरे । बलिङतर्फ चितवनका सोहिल तन्विर, कमलसिह ऐरी र अमरसिंह रौटेलले समान १–१ विकेट लिए।

पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो। डेविड मलानले ५४ बलमा ८० र अर्जुन साउदले ३९ बलमा ५२ रन बनाए।
एनपीएलको पहिलो संस्करण विजेता जनकपुरको दोस्रो संस्करणमा यो पहिलो जीत हो। पाँच खेलपछि तालिकामा सातौं स्थानमा रहेको जनकपुरको प्लेअफमा पुग्ने गणितिय सम्भावना रहेको छ। चितवन पाँच खेलमा दुई जितसहित चौथो स्थानमा छ।
आजको दोस्रो खेलमा दिउँसो ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता मङ्सिर १ गतेदेखि २७ गतेसम्म चल्नेछ।



