नेपाल प्रिमियर लिग (एनपीएल)को खेलमा सट्टेबाजीमा संलग्न ८ जना भारतीय नागरिक काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले त्रिवि क्रिकेट मैदानबाट पक्राउ गरेका छन्।
प्रवक्ता काजीकुमार आर्चायका अनुसार पक्राउ परेका मध्ये कोही विद्यार्थी र कोही सामान्य काम गर्ने व्यक्ति हुन्। उनीहरू भारतको आन्ध्र प्रदेशबाट नेपालमा अनलाइन बेटिङका लागि आएको खुलेको छ। हरेक खेलमा मैदानमा पुगेर अनलाइन बेटिङ साइटमार्फत रकम लगानी गर्ने क्रममै उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा आन्ध्र प्रदेशका राजा यदुला (३१), महेश बाबु (३५), पण्डित श्रीनिवासुलु (३०), सेख सोयब (२०), नभिन मड्डेला (३०), महमद रफी सेख (३२), साई कुमार तम्सीट्टी (१९) र सेख चन्द बसल (२८) रहेका छन्। उनीहरूको साथबाट १५ थान मोबाइल बरामद गरिएको छ भने बैंक खाताबाट ५ लाख बढीको कारोबार भएको देखिएको छ।
यसअघि पनि एनपीएलमा खेलाडीलाई प्रलोभन दिने प्रयासमा दुई जनालाई पक्राउ गरिएको थियो। अनुसन्धानका क्रममा उनीहरूले खेलाडीलाई भेटेर म्याचफिक्सिङ गर्ने प्रयास गरेको प्रमाण फेला परेको थियो।
पक्राउ परेकाहरूको अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंमा जारी छ ।



